
साकेला- खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको “श्रम साकेला अभियान” अन्तर्गत वडा नम्बर–२ को आयोजनामा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको साकेला थान र साकेला पार्क क्षेत्रमा शनिबार वृहत सरसफाई गरिएको छ ।
हजारौं वर्ष पुरानो सांस्कृतिक सम्पदा तथा धार्मिक पर्यटकीय स्थलको संरक्षण र सौन्दर्यकरणलाई निरन्तरता दिने उद्देश्यले जनश्रमदानमार्फत सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा सम्पन्न सरसफाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी र स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो । सामूहिक श्रमदानमार्फत गरिएको सरसफाईले स्थानीयस्तरमा स्वच्छता र वातावरणीय जिम्मेवारीबोध बढाउन सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

सो अवसरमा अध्यक्ष राईले स्वच्छता केवल सरसफाईको काम मात्र नभई सभ्य समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो । उहाँले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटकीय सम्भावनालाई समेत प्रवर्द्धन गर्न यस्ता अभियान निरन्तर सञ्चालन गरिने बताउनुभयो ।
“हामीले विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी वातावरणीय सन्तुलन, सांस्कृतिक संरक्षण र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेका छौं,” अध्यक्ष राईले भन्नुभयो, “जनश्रमदानको संस्कृतिले गाउँपालिकामा अपनत्व र जिम्मेवारीको भावना बलियो बनाएको छ ।”
अध्यक्ष राईले श्रमदानमा सक्रिय रूपमा सहभागी सबै जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयबासीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानमा निरन्तर साथ दिन आग्रह गर्नुभयो ।
साकेला गाउँपालिकाले पालिकालाई सफा, स्वच्छ र सुन्दर बनाउने लक्ष्यसहित “पूर्ण सरसफाई अभियान” लाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । यस अन्तर्गत विभिन्न वडामा सरसफाई, फोहर व्यवस्थापन तथा सार्वजनिक स्थलको संरक्षणसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
प्रतिक्रिया