भाद्र ५, २०८३ शुक्रबार

जनप्रतिनिधिदेखि कर्मचारीसम्म श्रममा

साकेला, खोटाङ — नागपञ्चमीको अवसरमा साकेला गाउँपालिकाले गाउँपालिका परिसरमा सरसफाइ तथा फूल रोपण कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन राईसहित गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

नागपञ्चमीको अवसरलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र सीमित नराखी स्वच्छता, वातावरण संरक्षण र श्रम संस्कृतिसँग जोड्दै गाउँपालिका परिसरमा सरसफाइ तथा विभिन्न फूल तथा बिरुवा रोपण गरिएको हो। जनप्रतिनिधि र कर्मचारीहरू आफैं श्रममा सहभागी भएर सार्वजनिक स्थलको सरसफाइ र सौन्दर्यीकरणमा जुटेका थिए।

साकेला गाउँपालिका पछिल्लो समय जनप्रतिनिधि र कर्मचारी स्वयं मैदानमा खटिएर श्रम गर्ने स्थानीय तहका रूपमा परिचित हुँदै गएको छ। विकास निर्माण, सडक मर्मत, सरसफाइ, वातावरण संरक्षण तथा सार्वजनिक संरचनाको संरक्षणलगायतका काममा गाउँपालिकाले श्रमलाई अभियानकै रूपमा अघि बढाउँदै आएको छ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा सञ्चालन हुँदै आएको ‘साकेला श्रम अभियान’ले जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकलाई प्रत्यक्ष श्रममा जोड्दै आएको छ। कार्यालयमा प्रशासनिक जिम्मेवारी सम्हाल्ने कर्मचारीहरू समेत आवश्यकताअनुसार सार्वजनिक स्थलमा पुगेर श्रमदानमा सहभागी हुने अभ्यास साकेलाको विशेष पहिचान बन्दै गएको छ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भने, “हाम्रो उद्देश्य कार्यालयमा बसेर मात्र सेवा दिने होइन, जनताको सुख–दुःखमा प्रत्यक्ष जोडिएर काम गर्नु हो। श्रमलाई सम्मान गर्ने संस्कार विकास गर्न सके मात्रै समृद्ध समाज निर्माण गर्न सकिन्छ। त्यसैले जनप्रतिनिधि र कर्मचारी आफैं श्रममा सहभागी भएर ‘आफ्नो ठाउँ आफैं बनाऔँ’ भन्ने भावना स्थापित गर्न हामी लागिरहेका छौँ।”

उनले थपे, “साकेला गाउँपालिका विकास निर्माणसँगै श्रम संस्कृतिलाई पनि संस्थागत गर्दै अघि बढिरहेको छ। हाम्रो श्रम अभियान कुनै एक दिनको कार्यक्रम होइन, जनताको सहभागिता र सामूहिक श्रममार्फत साकेलालाई अझ सुन्दर, स्वच्छ र समृद्ध बनाउने निरन्तर अभियान हो।”

यसै कारण साकेला गाउँपालिका देशकै सबैभन्दा बढी श्रम गर्ने स्थानीय तहमध्ये एक बन्ने दिशामा अघि बढिरहेको छ भने यहाँका कर्मचारीहरू पनि देशकै सबैभन्दा बढी श्रम गर्ने स्थानीय तहका कर्मचारीमध्ये पर्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। जनप्रतिनिधि र कर्मचारीबीचको यस्तो सहकार्यले सरकारी सेवा केवल कार्यालयभित्र सीमित नभई जनताको आवश्यकता र सार्वजनिक हितसँग प्रत्यक्ष जोडिनुपर्ने सन्देश दिएको छ।

अध्यक्ष राईले नेतृत्व गर्दै आएको श्रम अभियानमा “आफैं श्रम गरौँ, आफ्नो ठाउँ आफैं बनाऔँ” भन्ने भावनालाई प्राथमिकता दिइएको छ। श्रमलाई सम्मान गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र आफ्नो गाउँपालिका आफैं सुन्दर बनाउने संस्कार विकास गर्ने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइँदै आएको गाउँपालिकाले जनाएको छ।

नागपञ्चमीको अवसरमा गरिएको सरसफाइ तथा फूल रोपण कार्यक्रमले धार्मिक–सांस्कृतिक पर्वलाई स्वच्छता, वातावरण संरक्षण र सामूहिक श्रमसँग जोड्ने सकारात्मक सन्देशसमेत दिएको छ।

जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतदेखि सम्पूर्ण कर्मचारीसम्म एउटै स्थानमा उपस्थित भएर श्रममा सहभागी भएको दृश्यले साकेला गाउँपालिकामा ‘श्रम नै विकासको आधार’ भन्ने संस्कार व्यवहारमै स्थापित हुँदै गएको देखाएको छ। साकेलाको यो अभ्यासले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता र श्रम संस्कृतिको नयाँ उदाहरण प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया