
खोटाङ — साकेला गाउँपालिकाले निर्माण गरेका सार्वजनिक तथा पर्यटकीय संरचनाहरूको संरक्षण र स्वच्छता कायम गर्ने उद्देश्यले गाउँपालिकाको प्रमुख प्रवेशद्वार साप्सुखोलामा सरसफाइ अभियान सञ्चालन गरिएको छ। साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा शनिबार गाउँपालिकाका कर्मचारीहरूको सहभागितामा साप्सुखोलास्थित स्काई वाक, पार्क, स्वागत गेटलगायतका विभिन्न संरचना तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको हो।
सार्वजनिक संरचना निर्माण गर्नु मात्र पर्याप्त नभई त्यसको नियमित संरक्षण, सरसफाइ र अपनत्व विकास गर्नु सबैको साझा जिम्मेवारी भएको सन्देश दिन सरसफाइ अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। साकेला गाउँपालिकाले सञ्चालन गरिरहेको ‘श्रम साकेला अभियान’ तथा पूर्ण सरसफाइमैत्री गाउँपालिका निर्माण गर्ने योजनाअन्तर्गत सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिकाले विकास निर्माणसँगै सार्वजनिक संरचनाको संरक्षण र स्वच्छ वातावरण निर्माणलाई समेत प्राथमिकतामा राख्दै आएको छ।
सरसफाइ अभियानमा सहभागी हुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले विकासका संरचनाहरू निर्माण गर्नु जत्तिकै महत्वपूर्ण तिनको संरक्षण र नियमित सरसफाइ रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले निर्माण गरेका संरचना हाम्रो साझा सम्पत्ति हुन्। संरचना बनाउने जिम्मेवारी सरकारको मात्र होइन, त्यसको संरक्षण गर्ने दायित्व पनि हामी सबैको हो। श्रम र अपनत्वको संस्कार विकास गर्न सके मात्रै विकासका संरचनाहरू दिगो बन्न सक्छन्।”
अध्यक्ष राईले ‘श्रम साकेला अभियान’*लाई केवल श्रमदानमा सीमित नराखी विकास, सरसफाइ, संरक्षण र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाइने बताउनुभयो।
“सफा साकेला, सुन्दर साकेला र समृद्ध साकेला निर्माणका लागि सबैको सहभागिता आवश्यक छ। सार्वजनिक स्थानमा फोहोर नगर्ने र आफूले प्रयोग गरेका स्थानको संरक्षण गर्ने संस्कार हरेक नागरिकमा विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो।
साकेला गाउँपालिकाको प्रवेशद्वारका रूपमा रहेको साप्सुखोलामा निर्माण गरिएका स्काई वाक, पार्क, स्वागत गेटलगायतका संरचनाले गाउँपालिकाको पर्यटन प्रवर्द्धन तथा पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। यी संरचनाको नियमित सरसफाइ र संरक्षणले स्थानीय पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले श्रम, सहभागिता र स्वच्छतालाई विकासको अभिन्न अंगका रूपमा अघि बढाउँदै आगामी दिनमा पनि सार्वजनिक संरचना संरक्षण, वातावरणीय स्वच्छता तथा सामुदायिक सहभागितामा आधारित अभियानलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया