भाद्र ६, २०८३ शनिबार

‘साकेला श्रम अभियान’ले गाउँपालिका परिसरमा नयाँ रूप

खोटाङ – विकास र सुशासनलाई केवल कार्यालयीय काममा सीमित नराखी व्यवहारमै श्रम संस्कृतिको अभ्यास गर्दै आएको साकेला गाउँपालिकाले ‘साकेला श्रम अभियान’अन्तर्गत गाउँपालिका परिसरमा क्रिसमस ट्री, धुपी तथा विभिन्न प्रजातिका फूलका बिरुवा रोपण, गोडमेल तथा संरक्षणसँगै डस्टबिनको समेत व्यवस्थित व्यवस्थापन गरेको छ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा भएको कार्यक्रममा विभिन्न विषयगत शाखाका कर्मचारीहरू कार्यालयीय जिम्मेवारीबाट केही समय निकालेर आफैं श्रममा खटिएका थिए। बिरुवा रोप्ने, गोडमेल गर्ने, परिसर सफा गर्ने तथा डस्टबिन व्यवस्थापन गर्ने काममा जनप्रतिनिधि र कर्मचारीको प्रत्यक्ष सहभागिता रहेको थियो।

साकेला गाउँपालिकाले पछिल्ला दिनमा श्रमलाई कुनै औपचारिक कार्यक्रमभन्दा पनि दैनिक कार्यसंस्कृतिको हिस्सा बनाउँदै आएको छ। कार्यालय परिसरको सौन्दर्यीकरणदेखि सार्वजनिक स्थलको सरसफाइ, सडक तथा संरचना संरक्षण, वातावरणीय काम र फोहोर व्यवस्थापनसम्म जनप्रतिनिधि तथा कर्मचारी आफैं सहभागी हुने अभ्यासले गाउँपालिकाको कार्यशैलीमा फरक पहिचान बनाएको छ।

यस अभियानको विशेषता भनेको श्रमका लागि छुट्टै मानिस खोज्नेभन्दा जिम्मेवारीमा रहेका व्यक्तिहरू स्वयं श्रममा उत्रिनु हो। अध्यक्षदेखि विषयगत शाखाका कर्मचारीसम्मले हातमा काम लिएर अघि बढ्ने अभ्यासले सरकारी सेवामा सेवाभाव, अनुशासन र सामूहिक जिम्मेवारीको नयाँ संस्कार विकास गर्ने प्रयास गरेको छ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले कार्यालय परिसरको हरियाली, सरसफाइ र फोहोर व्यवस्थापनलाई सामान्य सजावटको विषय नभई सभ्य कार्यसंस्कृति र वातावरणीय जिम्मेवारीसँग जोडिएको विषय भएको बताए। “हामीले श्रमलाई भाषणमा होइन, व्यवहारमा स्थापित गर्न खोजिरहेका छौँ। कार्यालय हाम्रो हो, सार्वजनिक सम्पत्ति हाम्रो हो र यसको स्वच्छता, संरक्षण तथा सुन्दरता कायम गर्नु पनि हाम्रो साझा जिम्मेवारी हो। फोहोर जथाभावी फाल्ने होइन, डस्टबिनको प्रयोग गर्ने संस्कार पनि हामी आफैंबाट सुरु गर्नुपर्छ,” अध्यक्ष राईले भने।

उनले ‘साकेला श्रम अभियान’लाई कुनै एक दिनको कार्यक्रम नभई निरन्तर चल्ने सामाजिक अभियानका रूपमा अघि बढाइएको बताए। “श्रमलाई सम्मान गर्ने, आफ्नो ठाउँ आफैं बनाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने संस्कार विकास गर्नु नै साकेला श्रम अभियानको उद्देश्य हो,” उनले भने। गाउँपालिका परिसरमा रोपिएका क्रिसमस ट्री, धुपी तथा विभिन्न फूलका बिरुवाले कार्यालय क्षेत्रलाई हरियाली र आकर्षक बनाउनुका साथै डस्टबिनको व्यवस्थापनले स्वच्छता, वातावरण संरक्षण र सार्वजनिक स्थानप्रतिको अपनत्वको भावनालाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया