भाद्र ६, २०८३ शनिबार

साकेलामा श्रमको शक्ति : सेखुवाको स्वास्थ्य इकाइ केन्द्रमा सामूहिक श्रमदान (फोटो फिचर)

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘साकेला श्रम अभियान’ अन्तर्गत वडा नं. १ स्थित सेखुवाको नयाँ स्वास्थ्य इकाइ केन्द्रमा सरसफाइ तथा श्रमदान कार्यक्रम सम्पन्न भएको छ। गाउँसभा सदस्य मुगाधन राईको नेतृत्वमा भएको श्रमदानमा वडा स्वास्थ्य कार्यालयका प्रमुख प्रितिमान ठाडामगर लगायत स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेविका, विद्यार्थी तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।

गाउँपालिकाले स्वास्थ्य सेवा थप व्यवस्थित र सहज बनाउने उद्देश्यले उपलब्ध गराएको नयाँ स्वास्थ्य इकाइ केन्द्रको परिसर सरसफाइ तथा वातावरण व्यवस्थापनका लागि गरिएको श्रमदानले सार्वजनिक स्वास्थ्य संस्था संरक्षणमा समुदायको साझा जिम्मेवारीलाई समेत उजागर गरेको छ। साकेला गाउँपालिकाले ‘साकेला श्रम अभियान’मार्फत सरसफाइ, वातावरण संरक्षण, सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास निर्माणमा जनप्रतिनिधिदेखि नागरिकसम्मलाई प्रत्यक्ष श्रमसँग जोड्दै आएको छ। ‘आफ्नो ठाउँ आफैं बनाऔँ’ भन्ने भावनालाई व्यवहारमा उतार्दै साकेलाले श्रमलाई विकास र सामाजिक एकताको संस्कारका रूपमा अघि बढाएको छ।

साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले श्रमदानमा सहभागी सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै भने, “श्रमदान केवल सरसफाइ होइन, आफ्नो समाजप्रतिको जिम्मेवारी हो। जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेविका, विद्यार्थी र नागरिक एउटै उद्देश्यका लागि श्रममा जुट्नु साकेला श्रम अभियानको वास्तविक शक्ति हो। अध्यक्ष राईले ‘साकेला श्रम अभियान’लाई निरन्तर सामाजिक अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया