
खोटाङ — हरितालिका तीजको पर्व देशभर मनाइरहेका बेला खोटाङको साकेला गाउँपालिकामा भने ‘साकेला श्रम अभियान’मार्फत सार्वजनिक पूर्वाधार संरक्षण र सरसफाइको कामलाई निरन्तरता दिइएको छ। अभियानअन्तर्गत साप्सुखोला–मतिम–५ स्थित गाउँपालिका प्रवेशद्वार तथा त्यहाँ निर्माण गरिएका संरचनाको सरसफाइसँगै आसपासका सडकको मर्मतसम्भार गरिएको हो। प्रवेशद्वार क्षेत्रको सौन्दर्य कायम राख्ने, निर्माण भएका संरचनाको संरक्षण गर्ने तथा आवागमनलाई सहज बनाउने उद्देश्यले श्रम परिचालन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। सार्वजनिक बिदाको दिनलाई समेत श्रम र सेवासँग जोड्दै गाउँपालिकाले ‘पर्वसँगै आफ्नो ठाउँका लागि श्रम’ गर्ने अभ्यासलाई निरन्तरता दिएको हो।
अभियानका क्रममा अध्यक्ष रवि प्रकाश राईले कामलाई नै विकासको आधार बनाउनुपर्नेमा जोड दिँदै भने, “गफ गरेर, भाषण गरेर र गालीगलौज गरेर देश बन्दैन। देश बनाउने हो भने हातमा काम, मनमा जिम्मेवारी र व्यवहारमा इमानदारी चाहिन्छ। विकास भाषणले होइन, श्रम र परिणामले देखिनुपर्छ। हामीले अरूलाई उपदेश दिनेभन्दा पहिले आफैँ श्रममा उत्रिएर उदाहरण प्रस्तुत गर्नुपर्छ। साकेला गाउँपालिकाका कर्मचारीहरू केवल कार्यालयमा बसेर सेवा दिने कर्मचारी मात्र होइन, आवश्यक पर्दा मैदानमा उत्रिएर काम गर्ने देशकै श्रमशील कर्मचारीका रूपमा चिनिनुपर्छ। आजको हाम्रो श्रम सानो काम हुन सक्छ, तर यही श्रम संस्कारले भोलिको समृद्ध साकेला र समृद्ध नेपाल निर्माण गर्ने आधार तयार गर्छ।”

गाउँपालिका प्रवेशद्वारमा निर्माण गरिएका संरचनाको नियमित सरसफाइ र संरक्षणसँगै सडकको मर्मतले गाउँपालिकाको पहिचान, सौन्दर्य तथा आवागमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ। साकेला गाउँपालिकाले पछिल्लो समय श्रमलाई विकास संस्कृतिको आधार बनाउँदै सार्वजनिक स्थल सरसफाइ, सडक मर्मत, वृक्षरोपण तथा सौन्दर्यीकरणका अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ।
तीजको दिन गरिएको श्रमले पर्व केवल उत्सव मनाउने अवसर मात्र नभई आफ्नो गाउँ, सार्वजनिक सम्पदा र भविष्यका लागि योगदान गर्ने अवसर पनि हो भन्ने सन्देश दिएको छ।


प्रतिक्रिया