असोज ३, २०८३ शनिबार

संविधान दिवसमा साकेलाको फरक अभ्यास : जनश्रमदान मार्फत चिटिक्क सडक (फोटो फिचर)

खोटाङ — संविधान दिवसको अवसरमा खोटाङको साकेला गाउँपालिकाले यस वर्ष फरक शैली अपनाएको छ। औपचारिक कार्यक्रम र भाषणमा मात्र सीमित नभई गाउँपालिकाले ‘साकेला श्रम अभियान’ अन्तर्गत वडा नं. ५ मा करिब २ किलोमिटर सडक सरसफाइ गर्दै संविधान दिवस मनाएको हो।

गाउँपालिका–५ स्थित मानेभञ्ज्याङ–साप्सुखोला सडकखण्डमा सञ्चालन गरिएको सरसफाइ अभियान गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा सम्पन्न भएको हो। अभियानको पूर्ण सरसफाइ संयोजक सगुन बस्नेतले समन्वय गर्नुभएको थियो।

अभियानमा गाउँपालिकाका कर्मचारी, वडा नं. ५ मा रहेका विद्यालयका शिक्षक तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। सडकको दायाँ–बायाँ रहेका फोहोर तथा झाडी हटाउँदै सडक क्षेत्र सफा गर्नुका साथै आवागमनलाई सहज बनाउने काम गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले संविधान दिवसलाई नागरिक अधिकारसँगै कर्तव्य र जिम्मेवारीलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । “गफ गरेर, भाषण गरेर र एक–अर्कालाई गाली गरेर मात्र देश बन्दैन। देश बनाउन काम गर्नुपर्छ, श्रम गर्नुपर्छ र आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। संविधान दिवस भाषण गर्ने दिन मात्र होइन, संविधानले दिएको अधिकारसँगै नागरिक कर्तव्य पूरा गर्ने दिन पनि हो। आज हामीले गरेको श्रम त्यही जिम्मेवारीबोधको एउटा उदाहरण हो।”

अध्यक्ष राईले साकेला गाउँपालिकाका कर्मचारी र शिक्षकहरू देशकै सबैभन्दा बढी श्रम गर्ने कर्मचारी तथा शिक्षकका रूपमा चिनिन थालेको उल्लेख गर्दै श्रम अभियानमा निरन्तर सक्रिय हुने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “साकेला गाउँपालिकाका कर्मचारी, शिक्षक र नागरिकले कार्यालयको जिम्मेवारीसँगै सार्वजनिक काममा पनि निरन्तर श्रम गर्दै आएका छन्। हामीले श्रमलाई संस्कार र सेवाभावलाई आफ्नो पहिचान बनाउने प्रयास गरेका छौँ।” अध्यक्ष राईले श्रम अभियानमा सहभागी गाउँपालिकाका कर्मचारी, वडा नं. ५ का विद्यालयका शिक्षक तथा स्थानीय नागरिकप्रति धन्यवाद व्यक्त गर्दै सार्वजनिक काममा सबैको सहभागिता र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अभियानमा सहभागी वडा नं. ५ स्थित स.मा.वि.का प्रधानाध्यापक शीतल राईले संविधान दिवसका अवसरमा विद्यार्थी र समुदायसँगै सार्वजनिक काममा सहभागी हुन पाउनु सकारात्मक अभ्यास भएको बताउनुभयो । “श्रम केवल सडक सफा गर्ने काम होइन, यसले जिम्मेवारी, अनुशासन र सामाजिक संस्कार सिकाउँछ। यस्ता अभियानले विद्यार्थी र समुदायमा श्रमप्रतिको सम्मान बढाउँछ।”

साकेला गाउँपालिकाले संविधान दिवसलाई श्रम, सरसफाइ र सार्वजनिक उत्तरदायित्वसँग जोड्दै स्थानीयस्तरमा नयाँ अभ्यासको सुरुआत गरेको जनाएको छ।गाउँपालिकाका अनुसार ‘साकेला श्रम अभियान’लाई निरन्तरता दिँदै सार्वजनिक स्थल, सडक तथा समुदायको सरसफाइ र संरक्षणमा नागरिक सहभागिता बढाउने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया