कार्तिक १, २०८३ शनिबार

साकेलाका तीन पूर्वाधार आयोजनालाई २६ करोड ५२ लाख बजेट, अध्यक्ष राईको पहलमा बहुवर्षीय प्रक्रियामा

खोटाङ — साकेला गाउँपालिकामा सडक कालोपत्रे तथा पुल निर्माणका तीन महत्वपूर्ण आयोजना बहुवर्षीय योजनाका रूपमा स्वीकृत भई प्रक्रिया अघि बढेका छन्। गाउँपालिका अध्यक्ष रविप्रकाश राईको निरन्तर पहल तथा कोशी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रदीपकुमार सुनुवारको सहयोगमा अघि बढेका ती आयोजनाका लागि कुल २६ करोड ५२ लाख ५५ हजार रुपैयाँको श्रोत सहमती सँगै बहुवर्षीय आयोजनाको रुपमा योजना स्वीकृत भएको छ ।

स्वीकृत योजनाअन्तर्गत दिक्तेल अस्पताल चोक–साप्सुखोला–साकेला सडक कालोपत्रेका लागि १० करोड रुपैयाँ, साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ सडक कालोपत्रेका लागि आठ करोड रुपैयाँ र गिद्धे दोभान–साप्सुखोला सडक पुल निर्माणका लागि आठ करोड ५२ लाख ५५ हजार रुपैयाँ बहुवर्षीय आयोजनाको रुपमा योजना स्वीकृत भएको हो।

गाउँपालिकाको सडक पूर्वाधार सुधार, यातायात पहुँच विस्तार तथा नागरिकको आवागमन सहज बनाउने उद्देश्यले अघि बढाइएका यी आयोजना साकेलाको विकासका दृष्टिले महत्वपूर्ण मानिएका छन्। बहुवर्षीय योजनाका रूपमा प्रक्रिया अघि बढेपछि आयोजनाहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने आधार तयार भएको छ।

यी योजनालाई स्वीकृत गराउन गाउँपालिका अध्यक्ष राईले प्रदेशस्तरमा निरन्तर पहल गरेको गाउँपालिकासम्बद्ध पक्षको भनाइ छ। तत्कालीन मन्त्री सुनुवारको सहयोग र समन्वयले पनि योजना अघि बढाउन योगदान पुर्‍याएको बताइएको छ।

दिक्तेल अस्पताल चोकदेखि साप्सुखोला हुँदै साकेला जोड्ने सडक कालोपत्रे भएपछि गाउँपालिका र आसपासका क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ सडक कालोपत्रेले स्थानीय बस्तीबीचको सडक सम्पर्कलाई थप व्यवस्थित बनाउने अपेक्षा छ।

गिद्धे दोभान–साप्सुखोला सडक पुल निर्माणले पनि सडक आवागमनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी सडक सञ्जालको निरन्तरता र यातायात सञ्चालनमा पुलको भूमिका महत्वपूर्ण हुने भएकाले उक्त आयोजना स्थानीयका लागि चासोको विषय बनेको छ।

तीनवटै आयोजनामा उल्लेख्य बजेट विनियोजन भए पनि त्यसको प्रत्यक्ष लाभ नागरिकले प्राप्त गर्न निर्माण प्रक्रिया समयमै अघि बढ्नु आवश्यक छ। बहुवर्षीय आयोजनाको स्वीकृति र बजेट विनियोजनपछि अब ठेक्का प्रक्रिया, निर्माणको समयसीमा, गुणस्तर तथा बजेटको प्रभावकारी उपयोग महत्वपूर्ण पक्ष हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया