जेठ ४, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • संघ र प्रदेशको बजेटले मात्र समृद्धि सम्भव छैन, आर्थिक रुपमा समृद्ध हुन व्यवसायिक बन्नुपर्छ- अध्यक्ष राई

    साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले संविधानद्धारा प्राप्त अधिकारलाई उपयोग गरेर काम गर्न सके स्थानीय सरकार समृद्ध हुन समय नलाग्ने बताउनुभएको छ । नागरिकहरुलाई आवश्यक परेको समस्या पूर्ती गर्ने जिम्मेवारी सरकारको भएको बताउँदै जनताको भावना विपरितको कार्य तीनै तहको सरकारले गर्न नहुने बताउनुभयो ।

    बुधबार गरीवि निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम-मेड्पा अन्तर्गत साकेला गाउँपालिकाको आयोजनामा वडा नं.-५ मात्तिमस्थित कात्तिकेमा भएको तीन दिने कफि खेति तालिम समापनको अवसरमा सहभागिहरुलाई सम्बोधन गर्दै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो ।

    उहाँले भन्नुभयो –संघीय संरचनाको मर्म र भावना अनुरुप यसअघि स्थानीय तहहरुले काम गर्न सकेन, शब्दमा मात्र स्थानीय तहहरु परिवर्तन भए अब व्यवहारिक विकासको खाँचो छ । आगामी पाँच वर्षभित्र यस गाउँपालिकालाई कस्तो बनाउने भन्ने खाका हामीले तयार गर्दैछौ, उहाँले थप्नुभयो- समृद्ध साकेला बनाउन अहिलेको जनप्रतिनिधिहरु संवेदनशिल छौं ।

    सोही अवसरमा बोल्दै उहाँले संघ र प्रदेशले हरेक वर्ष दिने पैसाले स्थानीय तहको समृद्धि र जनताको सपना पुरा नहुने बताउँदै उक्त पैसालाई सही ठाउँमा सदुपयोग गरी सामूहिक आयआर्जनलाई जोड दिएमात्र आर्थिक रुपमा समृद्ध हुन सकिने बताउनुभयो ।

    शिक्षा, स्वास्थ्य र सडक बसाँइसराईको प्रमुख कारण

    अर्को एक प्रसंगमा अध्यक्ष राईले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई गुणस्तर बनाउन सके बसाँइसराई न्यूनिकरण गर्न सकिने समेत बताउनुभयो । हाम्रो शैक्षिक अवस्था गुणस्तर छैन, स्वास्थ्य उपचार प्रभावकारी छैन, सडक पूर्वाधारको अवस्था उस्तै भएपछि सुविधाका लागि स्थानीय बसाँइसराई जानु सामान्य विषय हो, अध्यक्ष राईले भन्नुभयो- बसाँइसराईलाई नियन्त्रण गर्नको लागि भविष्य सम्मको विकासको खाका तयार गर्दै आयआर्जनलाई वृद्धि गर्नुपर्छ ।

    कृषिमा अनुदान हैन, वीउपूँजी उपलब्ध गराईन्छ ।

    यसअघि स्थानीय सरकारहरुले कृषिमा गरेको लगानी त्यसै खेर गएको र आगामी दिनमा कार्यविधि बनाएर वीउपूँजीको रुपमा कृषकलाई अनुदान उपलब्ध गराईने अध्यक्ष राईले बताउनुभयो । कृषिलाई व्यवसायिक बनाउन र कृषकलाई जिम्मेवार बनाउन वीउपूँजीको अवधारणा अघि सारिने उहाँको भनाई छ ।

    यसअघि कृषि क्षेत्रमा गरिएका लगानी बालुवामा पानी भएको छ । बाख्रा पालन, राँगा पालन, कुखुरा पालन लगायतका क्षेत्रमा गरिएका लगानी अहिले खोरमात्र बाँकी छ । उहाँले भन्नुभयो- वीउपूँजी अनुदान उपलब्ध गराउँदा कृषक र सरकार दुवैलाई फाईदा हुन्छ, सबै कृषक व्यवसायिक सँगै समृद्ध हुन्छन् । कृषकलाई समृद्ध बनाउने खालको कार्यविधि चाँडै तयार गरिने पनि उहाँले बताउनुभयो ।

    कफि खेतिबाट व्यवसायिक बन्दै किसान

    अहिले साकेला गाउँपालिकाको वडा नम्बर ४, ५ र २ को बेशी क्षेत्रका किसानहरु कफि खेतीबाट राम्ररी आयआर्जन गर्न सकिने कुरामा ढुक्क छन् । उक्त क्षेत्रका किसानहरुले कफि खेतीबाट मनग्ये आम्दानी समेत गर्न थालेका छन् भने एकै घरमा २ सय बिरुवा सम्म कफी रोपेका छन् ।

    अहिले विश्वबजारमा कफिको राम्रो माग छ । नेपालमै टिप्न बित्तिकैको ए ग्रेडको चेरीलाई ९५ रुपैंया, बि ग्रेडको चेरीलाई ८५ रुपैंया प्रतिकेजी सम्म बिक्रि हुने गरेको छ । त्यस्तै पार्समेन्ट ए ग्रेडको कफिको प्रतिकेजी मूल्य ४७५ रुपैंया र बि ग्रेडको मूल्य ४२० रुपैंया छ भने ग्रिनवीन गुणस्तर अनुसार १ देखि २ हजार रुपैंया प्रतिकेजी मूल्य भएको साकेला गाउँपालिकाका कृषि शाखा अधिकृत अनन्त ढकालको भनाई छ ।

    तीन दिन सम्म सञ्चालन भएको तालिममा ४० जना कृषकहरुको सहभागिता रहेको थियो भने बिहीबारबाट साकेला गाउँपालिकाकै वडा नं. २ स्थित रतन्छामा उक्त कफि विकास तालिम सुरु हुने गाउँपालिकाका सामाजिक विकास अधिकृत दुर्ग बहादुर राईले बताउनुभयो । तालिम समापनको अवसरमा कृषकहरुलाई विभिन्न कृषि समाग्री समेत हस्तान्तरण गरिएको थियो । उक्त समापन वडा नं. ५ का वडा अध्यक्ष जीवन खत्रीको सभापतित्व, गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतथा तथा सामाजिक विकास अधिकृत दुर्गबहादुर राईको सञ्चालनमा भएको थियो भने तालिमको सहजीकरण कृषि शाखा अधिकृत अनन्त ढकालले गर्नुभएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया