जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • पाठ्यपुस्तक किन्न वार्षिक एक लाख उपलब्ध गराउने अध्यक्ष राईको घोषणा

    खोटाङ-साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राईले अंग्रेजी माध्यमको पाठ्यपुस्तक खरिद गर्न  व्यक्तिगत एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले वार्षिक एक लाख रुपैंया अंग्रेजी माध्यमको पाठ्यपुस्तक खरिदको लागि उपलब्ध गराउने घोषणा गर्नुभएको हो । यसै वर्षदेखि पठनपाठन थाल्ने आधारभूत तह १–३ कक्षाको पठनपाठनका लागि अंग्रेजी माध्यमको पाठ्यपुस्तक खरिद गर्न अध्यक्ष राईले सो परिमाणको नगद चन्दा उपलब्ध गराउनुहुने भएको छ ।

    आधारभूत तथा माध्यमिक गरी २८ वटा सामुदायिक विद्यालय रहेको साकेलामा यस शैक्षिक वर्षमा पाँचवटा माविमा मात्र अंग्रेजी माध्यममा पढाइ थाल्ने र आगामी वर्षहरुमा अन्य विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने हालै बसेको गाउँ शिक्षा समितिको वैठकले निर्णय गरेको थियो । उक्त वैठकमा अध्यक्ष राईले आगामी वर्षहरुमा समेत पाठ्य पुस्तक खरिदको लागि वार्षिक एक लाख रुपैंया चन्दा दिने घोषणा गर्नुभएको हो ।

    अंग्रेजी माध्यम पठनपाठनका लागि शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजन कार्य थालिएको शिक्षा शाखा प्रमुख कविराज राईले बताउनुभयो।

    विद्यार्थी र अभिभावकको अंग्रेजी मोहलाई ध्यानमा राख्दै गाउँपालिकाले सामुदायिक विद्यालयमै अनिवार्य अंग्रेजी माध्यममा पठनपाठन गर्ने निर्णय गरेसँगै अध्यक्ष राईले पाठ्यपुस्तक किन्न रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो।

    दिनदिनै सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै जानुको मुख्य कारण अंग्रेजी मोह नै भएको ठहर गर्दै यस्तो निर्णय गरिएको राईले बताउनुभयो। अभिभावक र विद्यार्थीमा अंगे्रजी मोहले निजी विद्यालयमा भर्ना हुने क्रम बढ्दै गएकाले गाउँपालिकाले यो रणनीति अपनाएको उहाँले बताउनुभयो। अंग्रेजी पढाउनकै लागि सहरबजारका बोर्डिङमा लगेर बालबालिकालाई भर्ना गर्दा यता विद्यार्थी संख्या घट्दै गएकाले सामुदायिक विद्यालयमै अंग्रजी माध्यमको गुणस्तरीय पठनपाठन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो।

    यो निर्णयले निश्चय नै अभिभावक र विद्यार्थीमा सामुदायिक विद्यालयप्रति आकर्षण थप्ने अपेक्षा गरिएको अध्यक्ष राईले बताउनुभयो। अंग्रेजी माध्यमसँगै गुणस्तरीय शिक्षा दिन सके सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्ने विश्वासले अंग्रेजी अनिवार्य गराउने निर्णय गरेको उहाँको भनाइ छ।अध्यक्ष राईका अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी, शिक्षक र अभिभावकको सुझावअनुसार आगामी दिनमा शैक्षिक सुधारका गतिविधि अघि बढाउँदै लैजाने निर्णय भएको छ।

    ‘हामी सहरबजारका महँगा निजी विद्यालय होइन, गाउँको विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा छौँ’ अध्यक्ष राईको आग्रह थियो, ‘अंग्रेजी अनिवार्य गराएर अथवा अन्य केही गरेर हुन्छ गाउँका सामुदायिक विद्यालयबाटै राम्रो र गुणस्तरीय शिक्षा बालबालिकाले पाऊन्, यो अभियानमा सबै मिलेर अघि बढौँ !’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया