साकेला- साकेला गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत निर्माण भईरहेको साप्सुखोला-मात्तिम-मानेभञ्ज्याङ-तावाभञ्ज्याङ सडकको गाउँपालिका प्रमुख रवि प्रकाश राई सहित जनप्रतिनिधि र कर्मचारीहरुद्धारा अनुगमन गरिएको छ ।
निर्माणाधिन अवस्थामा रहेको उक्त सडकको सव-वेस, सवग्रेड, रोडवेस्ट्रक्चर लगायतको काम सम्पन्न हुने अन्तिम चरणमा पुगेपछि सोमबार गाउँपालिका प्रमुख राई सहित उपाध्यक्ष बिर्सिका राई, साकेला गाउँपालिका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, निर्माण कम्पनीका प्रतिनिधि, गाउँपालिकाका इन्जिनियर आनन्द पौडेल लगायतको टोलीले करीव ३० किलोमिटर सडकको प्रत्यक्ष अनुगमन गर्नुभएको हो ।
प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय उदयपुरद्धारा ठेक्का लगाई काम सुरु गरिएको उक्त सडक निर्माणको जिम्मा दिवा आजाद जेभी काठमाडौले ३२ करोड २७ लाख ५२ हजार ९३४ रुपैंया (भ्याट सहित)मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । ठेक्का सम्झौता अनुसार सडक स्तरोन्नती र सब-वेसको काम १६ डिसेम्बर, २०१९ मा सम्झौता भई १६ डिसेम्बर २०२१ मा सम्पन्न गर्नुपर्ने थियो । तर उक्त सडक निर्माण सम्पन्न गर्नुपर्ने म्याद समाप्त भएको लामो समय बितिसक्दा पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
गाउँपालिका प्रमुख राईले काममा ढिलासुस्ती र गुणस्तरहीन सडक निर्माणबारे पटक पटक खबरदारी गर्दै आउनुभएको छ । अनुगमन पश्चात चाँडो भन्दा चाँडो गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई प्रमुख राईले निर्देशन दिनुभएको छ । सव-वेसको काम सम्पन्न भएपश्चात उक्त सडकमा कालोपत्रेको प्रकृया अघि बढ्ने गाउँपालिका प्रमुख राईको भनाई छ । साकेला गाउँपालिकाबासीले सदरमुकाम दिक्तेल हुँदै राजधानीसम्म पुग्न, छिमेकी जिल्ला भोजपुरहुँदै अन्यत्र जान र उदयपुरहुँदै तराईका जिल्ला सम्म यही सडक प्रयोग गर्ने गरेका छन् ।
प्रतिक्रिया