असोज २४, २०८१ बिहिबार
  • ताजा अपडेट
  • English
  • साप्सुखोला जलविद्युत आयोजनाको शेयर बिक्री खुला

    खोटाङ- हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला जलविद्युत आयोजनाको साधारण शेयर बिक्री खुलाइएको छ । आयोजनाको प्रवर्दक कम्पनी थ्रीस्टार हाइड्रो पावर कम्पनीले उत्पादन गरेको ६.६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको साधारण शेयर बिक्री खुला गरिएको हो ।

    आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर बिक्री खुला गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका सबै ११ वडा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै सातवटै वडाका स्थानीय बासिन्दाले शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थ्रीस्टार हाइड्रो पावर कम्पनीका आयोजना प्रमुख प्रदिप दाहालले जानकारी दिनुभएको छ ।

    यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले शेयर सदस्यका लागि अनलाइनमाध्यममार्फत आवेदन दिन सक्ने जनाइएको छ । प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम दश कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    स्थानीय बासिन्दाले अधिकतम चार लाख ९२ हजार ५०० र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ७३ हजार ८७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । शेयरका लागि वैशाख–२५ गतेसम्म र ढिलोमा जेठ–९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

    स्थानीय बासिन्दाले सानिमा, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, ज्योति विकास, प्रभु र थ्रीस्टार हाइड्रो पावरको कार्यालयबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । उत्पादन शुरु भएको दुई वर्षपछि साप्सुखोला जलविद्युत आयोजनाले शेयर बिक्री खुलाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।

    यसैगरी, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको जनाइएको छ । कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पुँजी रु ४९ करोड २५ लाखको दश प्रतिशत अर्थात् रु चार करोड ९२ लाख ५० हजार बराबरको चार लाख ९२ हजार ५०० कित्ता सेयर खुला गरेको छ ।

    यस्तै, सर्वसाधारणलाई छुट्याएको १५ प्रतिशत अर्थात् रु सात करोड ३८ लाख ७५ हजार को दश प्रतिशतले हुन आउने रु ७३ लाख ८७ हजार ५०० बराबरको ७३ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन बाँडफाँड गर्न बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

    करिब रु एक अर्ब ५० करोडमा साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको जनाइएको थियो । खोलाबाट करिब चार किलोमिटर हेडड्रेसमार्फत ल्याइएको पानीलाई बेलडाँडाबाट ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेण्ड सात हजार लिटर पानी खसाएर विद्युत उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

    राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ । वि.सं. २०७८ मङ्सिर–१४ गतेदेखि परीक्षण उत्पादन शुरु गरिएको जलविद्युत वि.सं. २०७८ पुसमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणलाईनमा जोडिएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया