मंग्सिर २४, २०८१ सोमबार
  • ताजा अपडेट
  • English
  • खोटाङका सबै स्थानीय तहले ल्याए बजेट

    खोटाङ- दश स्थानीय तह रहेको खोटाङका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट ल्याएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहको प्रथामिकतामा यस वर्ष पनि कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा,  पशु र भौतिक पूर्वाधार परेका छन् ।

    सबैभन्दा धेरै बजेट ल्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम बजेट ल्याउने साकेला गाउँपालिका छन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी वर्षका लागि ९८ करोड ६ लाख ५७ हजार बजेट ल्याएको छ । नगरपालिकाले यस वर्ष कृषि र पर्यटन पहिलो प्रथामिकतामा राखेको छ ।

    कृषीलाई प्राथमिकता

    हलेसी तुवाचुङ नगरपालिकाले ७७ करोड ६४ लाख ८९ हजार बराबरको बजेट १३औं नगरसभाबाट पारित गरेको छ । नगरपालिकाले कृषि तथा पशु साझेदारी कार्यक्रमका लागि  दुई करोड ४९ लाख, महिला बालबालिका तथा लक्षित वर्ग कार्यक्रमका लागि  एक करोड ४९ लाख र स्वास्थ्य तथा आयुर्वेदका लागि  एक करोड ३६ लाख ५० हजार रकम विनियोजन गरेको छ ।

    नगर समपूरकमा तीन करोड ६९ लाख ५० हजार विनियोजन गरेको नगरले विभिन्न वडा कार्यालय निर्माणका लागि  दुई करोड, प्रशासकीय भवन निर्माणका लागि एक करोड विनियोजन गरेको छ । नगर सडक निर्माणका लागि  ५० लाख, सुरक्षित नागरिक आवास मर्मत संम्भारका लागि  ५० लाख, पर्यटन, धार्मिक तथा सँस्कृति संरक्षणका लागि ५३ लाख विनियोजन गरिएको छ । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्दै मासुमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम ल्याएको छ । ११  वडा रहेको  नगरपालिकाले मासुमा आत्मनिर्भर बनाउन राँगा, बङ्गुर र कुखुरापालन गर्ने किसानका लागि विशेष अनुदान दिने योजना बनाएको छ ।

    सरकारी सुविधा लिएकाहरुले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    खोटेहाङ गाउँपालिकाले आगामी वर्षका लागि ५२ करोड बजेट ल्याएको छ ।  गाउँपालिकाले शैक्षिक सुधारका लागि सरकारी सेवासुविधा लिएका सबै कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरुको छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ ।

    नीति तथा कार्यक्रममा गाउँपालिका र मातहत कार्यालयहरुले सार्वजनिक कार्यक्रमहरु गर्दा खादा तथा ब्याच बनाउने कामलाई पूर्णरुपमा निषेध गर्ने उल्लेख छ । यसले गाउँपालिकामा फजुल खर्च बढाउनका साथै तामझाममा समय व्यतित हुने भएकाले गाउँपालिका यस्तो नीति बनाउनुपरेको जनाएको छ ।

    हेल्लो डाक्टर कार्यक्रम

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ५० करोड २१ लाख बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले ‘हेल्लो डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाबासी कोही पनि स्वास्थ्योपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटेर उक्त कार्यक्रम ल्याएको हो ।

    कृषी र शिक्षालाई प्राथमिकता

    केपिलासगढी गाउँपालिकाले कृषि र शिक्षालाई पहिलो प्रथामिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ४९ करोड ५८ लाख ७७ हजार ५७६ बराबरको बजेट पारित गरेको छ ।

    ऐसेलुखर्क गाउँपालिकाले ४३ करोड १७ लाख ७२ हजार रुपैंया बजेट ल्याएको छ । गाउँपालिकाले गरिबी निवारण तथा रोजगारमूलक योजनालाई प्राथमिकता दिएको छ ।

    कृषी एम्वुलेन्स सञ्चालन गरिने

    जन्तेढुंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४१ करोड बराबरको बजेट ल्याएको छ । जन्तेढुङ्गा गाउँपालिकाले सबै वडाबाट गाउँपालिकाको केन्द्र पुग्ने सडक कालोपत्र गर्ने भएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउनका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने नीति अघि सारेको छ।

    बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ३७ करोड ४७ लाख ५९ हजार बजेट ल्याएको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा भने युवा स्वरोजगार कार्यक्रमलाई प्रथामिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।

    रावाबेसी गाउँपालिकाले  अर्थिक वर्ष २०८०/०८१ का लागि ३७ करोड ३४ लाख, ११ हजार बजेट ल्याएको छ ।गाउँपालिकाले आफ्नै पालिकाभित्र उत्पादित छालाको जुत्ता र खाडी कपडा विद्यार्थीको पोशाकको रुपमा प्रयोग गर्न÷गराउन जोड दिने भएको छ ।

    बसाईसरी आउनेलाई सम्मान स्वरुप पाँच हजार

    साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ करोड ८८ लाख ८१ हजार बजेट ल्याएको छ । गाउँपालिकाले बसाइँ सर्नेहरुको सङ्ख्या बढिरहेको कारण जनसङ्ख्या दिनानुदिन घटिरहेको अवस्थामा जनसङ्ख्यालाई सन्तुलनमा राख्न आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा नयाँ नीति अपनाएको छ । गाउँपालिकाले घट्दो जनसङ्ख्यालाई सन्तुलनमा राख्न अन्यत्रबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई सम्मान स्वरुप  पाँच हजार नगद रकम उपलब्ध गराउने नीति अघि सारेको हो ।

    बसाइँसराइलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा लगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ सम्पन्न १३ औँ गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया