साकेला- ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खोटाङको साकेला गाउँपालिकाले भब्य रुपमा विविध कार्यक्रम गरी दिवस मनाएको छ ।हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । यस वर्षको महिला दिवसको नारा ”सबै महिला तथा बालबालिकाको लागि अधिकार : समानता र सशक्तिकरण” दिइएको छ ।
साकेला गाउँपालिकास्थित महिला तथा बालबालिका शाखाको आयोजनामा “पेशागत क्षेत्रमा महिलाहरुको सहभागिता” शीर्षकमा खुल्ला महिला बकृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा रस्मिता अधिकारी प्रथम, खुश्बु खड्का दोश्रो, देवीमाया कटुवाल तेश्रो र मनिता राई सान्तवना हुनुभएको छ । प्रतियोगिताको प्रथम, दोश्रो, तेश्रो र सान्तवना हुने सहभागिहरुलाई क्रमश सात हजार, छ हजार, पाँच हजार र चार हजार रुपैंयाको साथमा प्रमाणपत्रद्वारा कार्यक्रमका प्रमुख अतिथि साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राई सहित कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्षहरु तथा निर्वाचित जनप्रतिनिधिहरुले सम्मान गर्नुभयो ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष रवि प्रकाश राईले महिलाहरुलाई नेतृत्व तहमा पुर्याई आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अघि बढ्नका लागि महिला लक्षित कार्यक्रम बनाएर निरन्तर सहयोग पुर्याईरहेको बताउनुभयो । अध्यक्ष राईले संविधानबाट प्राप्त अधिकारहरुलाई पुरा गर्नका लागि नीति बनाएर पालिकाको तर्फबाट थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कतिपय अवस्थामा नेपाली समाजले अझै पनि महिलाहरुलाई विभेदको दृष्टिले हेर्ने गरिएको तथ्य उल्लेख गर्दै उहाँले समानता र समान अधिकारका लागि महिलाहरुलाई विभेदको दृष्टिले हेर्न नहुने बताउनुभएको छ । सोही कार्यक्रममा शुभकामना प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले मूलुक परिवर्तनमा महिलाहरुको ठूलो भूमिका भएको बताउँदै महिलाहरु विभाजित नभई सकारात्मक सोंच राखी अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
यसरी मनाउन थालियो श्रमिक महिला दिवस
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।
प्रतिक्रिया