जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साँगीतिक दुनियाँमा छाउँदै गायिका रश्मी

    खोटाङ- जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङमा जन्मनुभएकी गायिका रस्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त हुनुहुन्छ । ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती शुरु भो’ बोलको गीतबाट चार वर्षअघि साँगीतिक यात्रा शुरु गर्नुभएकी गायिका रस्मीले तीन दर्जनबढी नेपाली गीत रेकर्ड गरिसक्नुभएको छ ।

    शङ्कर अधिकारीको शब्द तथा पुस्कर सुनुवारको सँगीत रहेको पहिलो नेपाली भाषाको गीत गाउनुभएकी गायिका रस्मीले चाम्लिङ, कोयू, बान्तावा र मैथिली भाषाको गीतसमेत गाउनुभएको छ । साँगीतिक यात्रा शुरु गरेको छोटो समयमै आफूले पाएको सफलता र दर्शक÷श्रोताको मायाँले साँगीतिक क्षेत्रमा अगाडि बढ्न थप प्रेरणा मिलेको गायिका रस्मीले बताउनुभएको छ ।

    लोक, आधुनिक र पूर्वेली लोक भाकाका गीतहरु गाएर साँगीतिक दुनियाँमा छाउनुभएकी गायिका रस्मीले ‘नेशनल ईन्टरटेन्मेन्ट अवार्ड २०२२’ समेत हात पारिसक्नुभएको छ । ‘सायद मैले सोचे जस्तै’ बोलको आधुनिक गीतमार्फत गायिका रस्मीले पपुलर आधुनिक गायिकाको उपाधि हात पर्नुभएको हो ।

    बाल्यकालदेखि नै साँगीतिक मोहमा फस्नुभएकी गायिका रस्मी सँगीतमै भविष्य बनाउने सपना बोकेर काठमाडौँमा साँगीतिक सङ्घर्ष गरिरहनुभएको छ । बुबा प्रसाद राई र आमा धनकुमारी राईकी चार छोरीमध्ये जेठी छोरी गायिका रस्मीले बढीजसो युवापुस्ताले रुचाउने गीतमा स्वर दिनुभएको छ ।

    गायिका रस्मीले ‘भञ्ज्याङखर्क डाँडै डाँडा हावा चल्यो सुसाउँदै’ बोलको गीत ‘राई इज किङ’को उपाधि प्राप्त गायक राजेश पायल राईसँग गाउनुभएको छ । अम्बर बिष्टको शब्द तथा सशी गुरुङ ‘बाङ्देल’को सँगीत रहेको ‘भञ्ज्याङखर्क डाँडै डाँडा हावा चल्यो सुसाउँदै’ बोलको गीतमा जिल्लाको दक्षिणी क्षेत्रका पर्यटकीयस्थलहरुको वर्णन गरिएको छ ।

    गायिका रस्मीले गाउनुभएको रोज लामा योञ्जनको शब्द र सुवाष चाम्लिङको सँगीत रहेको ‘तिम्रो नयन’ बोलको आधुनिक गीतको म्यूजिक भिडियो निक्कै चर्चामा छ । मेगना मगरातीको छायाँकन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा विशाल लिम्बू र शिखा राईको अभिनय रहेको छ ।

    ‘पहाडको माथि–माथि’, ‘जुनको फूल’, ‘कुर्दै होला’, ‘प्रेम युद्ध’, ‘जब तिमीसँग’, ‘जुनको फूल’, ‘फूलमा पनि’, ‘मायाँ सँधै‘, ‘भेडेटारमुनि सुन्दर धरान बजार’, ‘धरानै शहरको भानुचोकैमा’, ‘सेवा सेवारो’, ‘ओ लुङा सेवारो–सेवारो’, ‘उभौलीको साकेलामा भेट भयो’ लगायतका तीन दर्जन बढी लोक तथा आधुनिक गीत बजारमा ल्याइसक्नुभएकी गायिका रस्मीको ‘गाउँ घरै सुन्ने भो’ र ‘दश औँली नमस्ते’ बोलको गीत भर्खरै रेकर्डिङ भएको छ । यही हप्ता रेकर्डिङ सकिएको राजकुमार राई ‘द कमाण्डो’को शब्द तथा सँगीत रहेको ‘गाउँ घरै सुन्ने भो’ र अर्जुन भट्टराईको शब्द तथा सशी गुरुङको सँगीत रहेको ‘दश औँली नमस्ते’ गीत केही दिनपछि सार्वजनिक हुने गायिका रस्मीले जानकारी दिनुभयो ।

    साँगीतिक क्षेत्रबाटै परिवारको घरखर्चसमेत धान्दै आउनुभएकी गायिका रस्मी विभिन्न ठाउँमा आयोजित स्टेज प्रोग्राम (स्थलगत कार्यक्रम)मा पनि उत्तिकै जम्ने गर्नुभएको छ । गायिका रस्मीको स्वरमा सजिएको दर्जनबढी लोक तथा आधुनिक गीतमा निर्माण गरिएको म्यूजिक भिडियोसमेत बजारमा आएको छ ।

    साँगीतिक भूमि भनेर चिनिने खोटाङका गायिका रस्मीसँगै दर्जनौँ युवा साँगीतिक दुनियाँमा आफ्नो भविष्य खोजिरहेका छन् । केही छोटो समयमै स्थापित भएका छन् भने, केही गुम्नाम बन्दै गएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया