साकेला- ४०० मेगावटको अरुण तेश्रो जलविद्युत आयोजनाबाट प्रभावित भएका नागरिकहरुले आफुहरुलाई घरबार विहिन बनाउने षड्यन्त्र भएको भन्दै सो कार्यप्रति आपत्ति जनाएका छन् । उनिहरुले आफुहरुलाई जानकारी नै नदिई जग्गाको मूल्याङ्कन गरेको, जग्गाहरुको वस्तुगत आधारमा पहिचान नगरी चलनचल्तीको मूल्यभन्दा कम रकम राखेको लगायतका विषयप्रति चित्त नबुझेको भन्दै आपत्ति जनाएका हुन् ।
साकेला गाउँपालिकाले प्रभावित क्षेत्रका नागरिकहरुसँग गरेको छलफलको क्रममा आफुहरुलाई चित्त बुझ्दो प्रकारको क्षतिपूर्ती आयोजनाले उपलब्ध गराउनु पर्ने समेत माग राखेका छन् । बिहीबार गाउँपालिकाले आयोजनाबाट प्रभावित वडा नं. १ को बाँझेच्यानडाँडा र वडा नं. २ रतन्छाका नागरिकहरुसँग छलफल गरेको थियो ।
रतन्छाका स्थानीयवासी तथा आयोजनाबाट प्रभावित प्रेम कुमार राईले भन्नुभयो- हामीलाई जानकारी नै नदिई जग्गा अधिग्रहण गरिएको छ, नागरिकलाई घरबार विहीन बनाउन पाईदैन, ठाउँ अनुसारको जग्गाहरुको उचित मूल्याङ्कन हुनुपर्छ । आफ्नो घर र जग्गा हाईटेन्सन तार मुनी परेको बताउँदै राईले भन्नुभयो- टावर राख्ने जमिन सरह क्षतिपूर्ती उपलब्ध आयोजनाले गर्नुपर्छ ।
अर्का प्रभावित नागरिक कूल बहादुर राईले बोटविरुवाहरुको मूल्य निर्धारण गर्दा कतिपय महत्वपूर्ण र वर्षेनी आम्दानी दिने बोटविरुवाहरुलाई नसमेटिएको उल्लेख गर्नुभयो । लिची, सुन्तला, रुद्राक्ष लगायतका महत्वपूर्ण बोटविरुवाहरुको क्षतिपूर्ती उल्लेख नगरेको उहाँको भनाई छ ।
रतन्छाकै अर्का प्रभावित नागरिक आश्विनचन्द्र राईले अरुण तेश्रोबाट प्राप्त हुने मुआब्जाले अन्यत्र जग्गा नआउने र कतिपय नागरिक बिस्थापित हुनुपर्ने अवस्था सृजना भएको बताउनुभएको छ । कतिपय व्यक्तिहरुको घरजग्गा जाँदैछ, अन्यत्र जीविका चलाउने ठाउँपनि छैन उहाँले भन्नुभयो- पीडितले जीविका धान्न सक्ने प्रकारको क्षतिपूर्तीको व्यवस्था गर्नुपर्छ ।
मपारुङ कृषि फर्मका सञ्चालक कवि कुमार राईले आफ्नो व्यवसायबाट वार्षिक करोडौं रुपैंया आम्दानी गर्ने सोंच बनाउनुभएको थियो, तर अहिले अरुण तेश्रो आयोजनाबाट आफ्नो पुरै व्यवसाय प्रभावित हुनेभएपछि अन्यौलमा पर्नुभएको छ । आयोजनाबाट प्राप्त हुने क्षतिपूर्तीबाट नागरिकको जीवन माथि नउठ्ने बताउँदै उहाँले घर, घडेरी र तारमुनी पर्ने जग्गाहरुको उचित मूल्याङ्कन हुनुपर्ने बताउनुभएको छ ।
सो क्रममा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले यो परियोजना राष्ट्रको गौरवको योजना भएको र यसलाई सफल बनाउने दायित्व स्थानीय सरकारको पनि भएको बताउँदै नागरिकहरुले उठाएको विषयप्रति आफूहरु संवेदनशिल भएको बताउनुभयो । हामी जनप्रतिनिधिहरु जनतासँगै छौं, जनताको भावना विपरितको कार्य गर्नेछैनौं उहाँले भन्नुभयो- जनताको आवश्यकतालाई मध्यनजर गर्दै समयसापेक्ष क्षतिपूर्ती उपलब्ध गराउन हाम्रो पहल हुनेछ ।
प्रभावित नागरिकहरुसँगको छलफलको क्रममा अध्यक्ष राईले थप्नुभयो- भौगोलिक रुपमा सानो तर उर्वर हाम्रो पालिकाको भूमीहरु भविष्यमा बहुमूल्य हुन्थ्यो तर यस परियोजनाबाट धेरैजसो महत्वपूर्ण भूगोलहरु हामीले गुमाउँदैछौं । हामी विकासको विरोधी होईनौ, तर गुमेका हाम्रा महत्वपूर्ण भूगोलहरुको उचित क्षतिपूर्ती निर्धारण गर्न हाम्रो निरन्तर पहल हुनेछ । यद्यपी, यस आयोजनाबाट हामी सरकार पक्ष, लगानीकर्ता र नागरिक सबैको जित हुन आवश्यक छ, कुनै पक्षपनि मारमा पर्नु हुन्न -उहाँको तर्क छ ।
संखुवासभाको दिदिङबाट उत्पादन हुने अरुण तेश्रो आयोजना संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा, महोत्तरी हुँदै भारतको बथनाहमा पुगेर टुङ्गिने छ । कूल एक हजार नौ सय ७७ करोड लागतमा सम्पन्न हुने आयोजना अन्तर्गत संखुवासभामा ५९ वटा, भोजपुरमा १०० वटा, खोटाङमा ८० वटा, उदयपुरमा १४७ वटा, सिराहामा २३ वटा, धनुषामा १०२ वटा र महोत्तरीमा ८७ वटा टिएल टावर रहनेछ ।
जसअन्तर्गत खोटाङको साकेलामा मात्र ३९ वटा टावर रहनेछ । आयोजनाले टिएल टावर रहने स्थानको मुआब्जाको लागि साकेला गाउँपालिकालाई २ करोड २९ लाख ८५ हजार ७१७ रुपैंया उपलब्ध गराउँदैछ । तारमुनी पर्ने प्रभावित घरजग्गा, विद्यालय, खेलमैदान, व्यवसायिक फर्महरुको मूल्य भने निर्धारण गरेको छैन ।
साकेला गाउँपालिकाले भने नागरिकहरुको सम्पूर्ण समस्या समाधान गरेर मात्र आयोजनाको कार्य अघि बढाउन आयोजनालाई निर्देशन दिदै आएको छ । नागरिकहरुसँगको छलफलमा गाउँपालिका अध्यक्ष राई सहित उपाध्यक्ष बिर्सिका राई, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । शुक्रबार वडा नं. ४ र ५ स्थित वडा कार्यालयमा नागरिकहरुसँगको छलफल कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया