साकेला- खोटाङको साकेला गाउँपालिकामा सञ्चालन गरिएको तीन महिने व्यवसायिक कपडा सिलाई कटाई तालिमको समापन गरिएको छ । “औधोगिक लगानी र पूर्वाधार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ साकेला गाउँपालिका र घरेलु तथा साना उद्योग विकास कार्यालय दिक्तेलको संयुक्त आयोजनामा साकेला गाउँपालिका-२, रतन्छामा सञ्चालित तालिमको समापन मंगलबार गाउँपालिका प्रमुख रवि प्रकाश राईको गर्नुभयो ।
स्थानीय दश जना महिलाहरु सहभागि भएको तालिम समापन पश्चात व्यवसायिक रुपमा यस पेशालाई अघि बढाउने प्रतिवद्धता जनाएपछि गाउँपालिका प्रमुख राईले दशै जना उद्यमी महिलाहरुलाई सिलाई कटाई मेसिन समेत प्रदान गर्नुभएको छ ।
स्थानीय महिलाहरुलाई उद्यमि बनाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले गरीवि निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत गत वैशाख १० गतेदेखि तालिम सञ्चालन गरिएको थियो । तालिम समापन पश्चात सहभागिहरुले प्रयोग गरेको सिलाई कटाई मेसिन व्यवसायिक रुपमा प्रयोग गर्नेगरी उनिहरुलाई नै हस्तान्तरण गरिएको हो ।
तालिम समापनको अवसरमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकाको एक घर एक व्यवसाय र एक रोजगारको नीति अनुरुप महिलाहरुलाई सिप प्रदान गरिएको बताउनुभयो । हामीले एक घर एक व्यवसाय वा रोजगारको कार्यक्रमलाई नीतिगत रुपमा निर्णय गरेरै अघि बढेका छौं, त्यसैको निरन्तरता स्वरुप यो तालिम प्रदान गरिएको हो, तपाईहरुले व्यवसायिक रुपमा यस पेशालाई अघि बढाउनुहोस् –अध्यक्ष राईले भन्नुभयो ।
साकेला-२ रतन्छाका कार्यवाहक अध्यक्ष भक्तबहादुर कटवालको अध्यक्षता तथा गाँउपालिका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न तालिममा सहभागि १० जना स्थानीय महिलाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालयका वरिष्ठ लद्यु उद्यम सहजकर्ता सुरेश सिं धामी सहितको उपस्थिति रहेको तालिम समापनको सञ्चालन सामाजिक विकास अधिकृत दुर्ग बहादुर राईले गर्नुभएको थियो ।
प्रतिक्रिया