चैत्र ६, २०८१ बुधबार
  • ताजा अपडेट
  • English
  • सभ्यताको वृक्षारोपण गर्दै साकेला गाउँपालिका

    खोटाङ- आ-आफ्नो भूगोल र सिमाना छुट्याउन सबैले परिचयात्मक र साँङ्केतिक तस्विर झल्किने बोर्डहरु राखेको हामीले देख्दै आएका छौं । यात्राको क्रममा भेटिने होर्डिङ वोर्डहरुले केही जानकारी मूलक सन्देश प्रदान गरिरहेको हुन्छ । सबैतिर हुने यस्ता साङ्केतिक कुराहरुले अगाडी हुने वस्तुस्थित, भूगोल र ठाउँको परिचय दिन्छ ।

    कतिपय यस्ता कुराहरु त्यो ठाउँको वास्तविकता, अपरिहार्यता र सभ्यतालाई परिचय दिईरहेको हुन्छ त्यो हामी कतिपयले ख्याल गरिँदैन, तर सोही वोर्डहरुले सहि मार्गदिशा प्रदान गरिरहेको हुन्छ । यात्राको क्रममा हरेक सिमाना र दोबाटोहरुमा राखिएका यस्ता साङ्केतिक दृष्यहरुले त्यो ठाउँको सँस्कार र सभ्यताको परिचय दिईरहेको साकेला गाउँपालिका प्रवेश गर्दा भेटिन सकिन्छ ।

    पूर्वी पहाडि जिल्ला खोटाङको साकेला गाउँपालिकाले अन्तर पालिकाको सिमाना र पालिकाभित्रका दोबाटोहरुमा राखेका यस्ता साङ्केतिक वोर्ड तथा चिन्हले साकेला गाउँपालिकामा हुर्कदैँ गरेको सँस्कार र सभ्यताको परिचय दिएको छ । यति मात्र होईन उक्त गाउँपालिकाले आफ्नै गाउँठाउँमा पाईने पात्ले, ढाल्ने र सालको काठबाट होर्डिङ बोर्ड बनाएको छ भने टोल टोल सम्म पुग्ने बाटो र ठाउँको नाम अङ्कित डाईरेक्सन (दिशा) एरो चिन्ह देखाएको छ ।

    गाउँपालिकाद्वारा राखिएको होर्डिङ बोर्ड र चिन्हहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिरहेको देख्दा लाग्छ हामी सँस्कार र सभ्यताले सुसज्जित पालिका प्रवेश गर्दैछौं । हुन त देशको ७५३ स्थानीय तहहरुमध्ये यो पालिका पृथक मान्न सकिन्छ ठाउँठाउँमा देखिने यस्ता डाईरेक्सन वोर्ड तथा स्वागत र विदाईका होर्डिङ वोर्ड देख्दा । अन्य स्थानीय तहहरुले पनि सिमानामा होर्डिङ बोर्ड त राखेकै छन् तर साकेलाले गरेको यो कार्य देशकै नमूना हो । अहिले साकेला गाउँपालिकाले सिमानाक्षेत्रका ८ वटा स्थानमा स्वागत र विदाई बोर्ड राखेको छ भने पालिकाभित्रका हरेक टोल तथा बस्ती सम्म छिर्ने ४० वटा दोबाटोहरुमा डाईरेक्सन बोर्ड राखेको छ ।

     

    खोटाङ जिल्लाको सबैभन्दा सानो र सुन्दर पालिका साकेलाले सभ्यताको वृक्षारोपण गर्न थालनी गरिएको उक्त गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । हामीले स्थानीय स्तरमा पाईने श्रोतसाधनको उपयोग गरेर होर्डिङ बोर्ड र डाईरेक्सन बोर्ड तयार गरेका हौं, यस कार्यमा स्थानीयले रोजगारी पनि पाउनुभएको छ, अध्यक्ष राईले भन्नुभयो स्थानीय स्तरमा पाईने लेकाली ढाल्ने कटुस र बेँशी क्षेत्रमा पाईने सालको रुखबाट बनाईएको डाईरेक्सन वोर्डहरु फलाम र टिन भन्दा बढी टिकाउ हुन्छ ।

    साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा बिनियोजन गरेको सात लाख रुपैंया बजेटबाट उक्त कार्य भएको गाउँपालिकाले जनाएको छ ।

    त्यसो त गाउँपालिकाले सफा र सुन्दर बनाई वातावरणमैत्री पालिका निर्माण गर्नका लागि वृक्षारोपण र पूर्ण सरसफाईको काम समेत निरन्तर गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा पालिकाका विभिन्न स्थानमा हालसम्म करीव ५० हजार बिरुवा रोपिएको छ भने हरेक टोल तथा बस्ती, सरकारी कार्यालय, विद्यालय, सार्वजनिकस्थल लगायत बढि जनघनत्व हुने पार्क तथा बजार क्षेत्रमा कुहिने, नकुहिने र शिसाजन्य फोहोर संकलनका लागि डष्टविनको व्यवस्था गरेको छ । गाउँपालिकाले सुरुवात गरेको सरसफाईमैत्री र वातावरणमैत्री पालिका निर्माणको अभियानलाई स्थानीय राजनैतिक दल, समाजसेवी, वुद्धिजीवि, नागरिकसमाज, व्यापारी, स्थानीयबासी लगायतले कम्मर कसेर साथ दिएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया